बिसंतकि (विष्णुकुण्ड)

बिसंतकि, एक ऐतिहासिक र सांस्कृतिक महत्वको तीर्थस्थल हो, जहाँ १४औं र १८-१९औं शताब्दीका मूर्तिहरू, उत्तर लिच्छबीकालिन चैत्य, र शयन मुद्राका महादेवको मूर्ति सहितका पुरातात्विक संरचनाहरू छन्, जसका पुनर्निर्माण कार्यहरूले यसको सांस्कृतिक र कलात्मक महत्वमा ह्रास पुर्याएको छ।

bagadesh

मध्यपुर थिमि नगरपालिका वडा नं ५ नगदेशस्थित बिसंतकि स्थानीयस्तरमा प्रख्यात तीर्थस्थल हो । सिलुतीर्थको रुपमा समेत चिनिने यो तीर्थ नगदेशबाट धुन्चो जाने बाटोबाट करिब १०० मिटर पश्चिममा अवस्थित छ । पोखरी बाहेक यस परिसरमा विभिन्न ऐतिहासिक एवम्पुरातात्विक महत्व बोकेका चैत्य, मूर्तिहरु रहेका छन्। पछिल्लो चरणमा पोखरीको बीचमा शयन मुद्राको महादेवको मूर्ति स्थापना गरी पुननिर्माण गरिएको छ ।

क) ऐतिहासिक पृष्ठभूमि

जानकारी अनुसार बिसंतकिमा रहेको दशपारमिता मूर्ति १४ औं शताव्दीतिरको भएको अनुमान गरिएको छ भने यसको सँगै रहेको गणेशको मूर्ति १८÷१९ औं शताव्दीतिरकोरहेको मानिन्छ । जानकारी अनुसार उक्त गणेशको मूर्तिलाई अन्तैबाट यहाँ सारिएको बताइन्छन्। बिसंतकि परिसरमा पुरातात्विक महत्वका उत्तर लिच्छबीकालिन चैत्य र कमल चैत्य रहेको छ । जुन चैत्यहरु क्रमशः १३÷१४ औं र १८÷१९ औं शताव्दीतिरको भएको बताइन्छ । केही भाग मात्र बाँकी रहने गरी भत्किसकेका यी चैत्यहरुलाई अहिले भने सिमेन्ट प्रयोग गरी मर्मत गरिएको छ जसको कारण यसको पुरातात्विक महत्वमा अत्यधिक ह्रास आएको छ । उत्तर लिच्छवीकालिन चैत्यको स्थापना हुनुले यस स्थानको ऐतिहासिक पृष्ठभूमिबारे थप अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

ख) सांस्कृतिक महत्व

बिसंतकिकोसांस्कृतिक पक्ष पनि उत्तिकै महत्वपूर्ण रहेको छ । यस तीथस्थलमा प्रत्येक वर्ष गुन्हु पुन्हिंको दिन ठूलो मेला लाग्दछ । उक्त मेलामा मध्यपुरथिमि नगरभित्रको मात्र नभई छिमेकी नगरपालिकाहरुबाट समेत स्नान गर्ने दर्शनार्थीहरुको घुईंचो लाग्दछ । यो समय यहाँ रातभर भजनकीर्तन गर्ने गरिन्छ । समुद्र मन्थनबाट निस्केको कालकूट विषपान गरी छटपटाएका महादेव गोसाइकुण्ड र मानसरोबर जाने क्रममा यस कुण्डमा विश्राम गरेको मान्यता भक्तजनहरुको रहेको पाइन्छ । यसकारण बिसंतकिलाई सिलुतीर्थको रुपमा लिइन्छ । विशेषगरी गोसाइकुण्ड पुग्न नसक्नेहरु यस पोखरीमा नुहाएर गोसाइकुण्ड दर्शन र स्नानको पुण्य प्राप्त गर्दछन्। सोह्रश्राद्धको बेला यहाँ श्राद्ध गर्नेहरुको भीड पनि बाक्लै हुनेगर्दछ भने हरेक दिन विभिन्न स्थानबाट श्राद्ध गर्न मानिसहरु यहाँ आउँदछन् । यहाँ पुगेर श्राद्ध गर्न सकेमा मृतकहरुको आत्माले मुक्ति पाउनेजनविश्वास रहेको पाइन्छ ।

ग) कलात्मक महत्व

उत्तर लिच्छविकालिन शैलीको चैत्य २ फिटको वर्गाकार डबलीमाथी झण्डै २ फिट नै अग्लो छ । हाल यसको बीचको भाग मात्र पुरातात्विक स्वरुपमा देख्न सकिन्छ भने अन्य भाग सिमेन्ट कंक्रिटबाट मर्मत गरिएको छ । चैत्यको चारै मोहडाका मूर्तिहरु हराइसकेका छन्। चैत्यको माथिल्लो गुम्बजमा कमलाकृति कुँदिएको छ । जुन निकैखिइसकेकोहुँदा प्रष्ट छैन । कमल चैत्यलाई सिमेन्ट कंक्रिटको प्रयोग गरी मर्मत गरिएको हुँदा यसको कलात्मक सौन्दर्यमा उल्लेख ह्रास आएको छ । झण्डै ८ फिट अग्लो उक्त चैत्यको मुनिको भाग सिमेन्ट प्लाष्टर गरिएको चारपाटे आकारको छ र यसको माथि चैत्यको पुरातात्विक स्वरुप रहेको छ । कमलको आकृति कुँदिएको पुरातात्विक चैत्यको यसभाग माथि चैत्यको गर्भास, गुम्बज, हर्मिका, गजुर रहेको छ । गर्भासको चारै मोहडा मध्ये पश्चिमतर्फ अमिताभ, दक्षिणतर्फ रत्नसंभव, पूर्वतर्फ अक्षोभ्य र उत्तरतर्फ अमोघसिद्धि थापना गरिएको छ । पोखरीलाई हालै कलात्मक दचिअपाको प्रयोग गरी पुनःनिर्माण गरिएको छ भने पोखरीको वरपर विभिन्न देवीदेवताका मूर्तिहरु स्थापना गरिएका छन्। पोखरीको पूर्वदक्षिण कुनामा सानो पानीको कुवा रहेको छ । यसै कुवालाई विष्णुकुण्डको रुपमा चिनिन्थ्यो । यसैगरी पोखरीके बीच भागमा शयन मुद्राका बालस्वरुप महादेवको प्रस्तर मूर्ति स्थापना गरिएको छ जुन पछिल्लो समयमा दर्शनार्थीहरुको मुख्य आकर्षण बनेको छ ।  यद्यपी संरक्षण र सम्बद्र्धन क्रममा पुराना स्वरुपमा गरिएको परिवर्तनका चपेटामा तीर्थस्थलको पुरातात्विक संरचना र
स्वरुपमा उल्लेख्य ह्रास आएको छ ।