नारायण मन्दिर

विष्णुघाटस्थित नारायण मन्दिर ऐतिहासिक, सांस्कृतिक र कलात्मक महत्वको स्थल हो, जसमा विष्णु र अन्य देवी-देवताका मूर्तिहरु प्रतिष्ठित छन्, र यसको पगोडा शैली र प्राचीनता गहिरो अनुसन्धानको आवश्यकता रहेको छ।

narayan temple, bode

मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोदेस्थित विष्णुघाटमा अवस्थित यो कलात्मक रुपमा अन्य मन्दिर भन्दा खासै भर नभएपनि यसको प्राचीनसम्बन्धि जानकारीको आधारमा यसको गहिरो अनुसन्धान हुनुपर्ने देखिन्छ । यस बाहेक यस स्थानको नाम आफैमा उत्तिकै अध्ययन योग्य देखिन्छ । विष्णुघाट अर्थात् यसमा भएका दुई शव्दहरु मध्ये विष्णुले यस मन्दिरभित्र प्रतिस्थापित नारायण भगवानलाई जनाउँदछ भने घाट शव्दले यो मन्दिर नजिक कुनै प्रकारको घाट भएकोतर्फ इंगित गर्दछ । सामान्यतया घाट भन्नाले नदी वा खोला किनारमा बनाइएको खुट्किलाहरु सहितको संरचना भनेर बुझिन्छ । तर यो स्थानको वर्तमान्अवस्थाले यो स्थानमा नदि वा खोला भएको कुनै संकेत गर्दैन । यद्यपी यस स्थानबाट मात्र करिब ४०० मिटरको दुरीमा मनोहरा खोला अझै पनि बगिरहेबाट कुनैसमय यो नदी यसै स्थानको वरपर भएर बग्दथ्यो कि ? अनुसन्धानको विषय बन्न सक्छ । त्यसो त आफ्नो बहाव मार्ग छिटोछिटो परिवर्तन गरिरहने यस नदीको स्वभावको कारणमा पनि उक्त अनुमानलाई सजिलै नकार्न सकिंदैन । यसर्थ उक्त स्थानबारे गहिरो अनुसन्धान गरेर यसको पुरातात्विक महत्वलाई उजागर गर्नुपर्ने देखिन्छ ।

क) ऐतिहासिक पृष्ठभूमि

नारायण मन्दिरको स्थापना सम्बन्धमा कुनै प्रकारको अभिलेख फेला नपरे पनि यस परिसरमा रहेको डबलीमा स्थापित ने.सं. ७५८ को शिलालेखमा उक्त डबलीलाई दाता सत्यराम भारोलेसँगैको इष्टदेवतालाई समर्पण गरेको विवरण पाइन्छ । यसबाट नारायण उक्त समयमा नारायण मन्दिर रहेको थाहा हुन्छ । यद्यपी उक्त समयमा मूर्ति मात्रैथियो वा मन्दिर समत नै निर्माण भैसकेको थियो भन्ने चाहिं प्रष्ट छैन । अर्कोतर्फ राष्ट्रिय अभिलेखालयमा भएको एक अभिलेखमा उक्त मन्दिरमा प्रतिस्थापित विष्णुको मूर्ति र मन्दिर अघिल्तिर राखिएको गरुडको मूर्तिलाई १५-१६ शताव्दितिरको भनी उल्लेख गरिएको छ । यसबाट मन्दिरको पुरातात्विक महत्व अझ बढी खँदिलो भएको छ ।

ख) सांस्कृतिक महत्व

थिमि र बोदे क्षेत्र लिच्छविकालमै आवाद भैसकेको कुरा यसअघि पनि उल्लेख गरिसकिएको छ । यहाँ पाइएका लिच्छविकालिन अभिलेखहरुले यी स्थानहरु तात्कालिन समयमा दूध, दही बेच्‍ने जातिहरुको थलोरहेको बुझिन्छ । त्यसो त बिसं २०३० को हाराहारीसम्म पनि बोदेक्षेत्रमा पशुपालनलाई प्राथमिक पेशाको रुपमा अंगालेको पाइन्थ्यो। यसबाट दुग्ध व्यवसायीहरुको बसोबास रहेको लिच्छविकालिन बोसिंग ग्राम नामक स्थान हालको बोदे हुनसक्नेअनुमानलाई टेवा दिन्छ । विष्णुघाटस्थित नारायण मन्दिरको सांस्कृतिक महत्वले उक्त अनुमानलाई थप बल प्रदान गर्दछ । स्थानीय प्रचलन अनुसार गाई वा भैंसी ब्याएपछि पहिलो ब्यउती दूध सबभन्दा पहिला यस मन्दिरमा चढाउन लगिने प्रचलन रहेको छ । यद्यपी यस क्षेत्रमा हाल पशुपालन पूर्णतः हटिसकेको हुँदा यो प्रचलन समेत हराइसकेको छ । यसबाट स्थानीय क्षेत्रमा यस मन्दिरको साँस्कृतिक महत्व झल्किन्छ ।

ग) कलात्मक महत्व

नारायण मन्दिर दुई तल्‍ले पगोडा शैलीको रहेको छ । जमिनबाट यस मन्दिरको गजूरसम्मको उचाइ करिब २८ फिट रहेको छ । मन्दिरको छाना झिंगटीले छाएको छ । हाल विद्यमान् प्रायजसो मन्दिरहरुमा सुनको जलप लगाइएको धातुको गजुर रहेको पाइन्छ भनेयस मन्दिरमा अलि पृथक ढुंगाको गजुर रहेको छ । यसले मन्दिरको प्राचीनतालाई ईंगित गर्दछ । अन्य मन्दिरमा झै यसको पहिलो र दोस्रो छानामुनि चारैतिर छपाझ्याः राखिएको छ । पश्चिमाभिमुख यस मन्दिरको तीनतिर गारो लगाइएको छ । मूल द्धारमा निकै कलात्मक रहेको छ । मूलद्धारमा अष्टमंगल, त्रिभंगा आदि कुँदिएको छ यसलाई कलात्मक तुलंले ओढाइएको छ । यसैगरी मुलद्धारको दायाँबायाँ सिँह रहेको प्रतिस्थापन गरिएको छ भने ठीक अघिल्तिर मूलद्धारबाट करिब १५ फिट पर गरुद्धको मूर्ति स्थापना गरिएको छ । । मन्दिरको चारैतिर चाकःमतः राखिएको छ। मन्दिरभित्र बीच पारेर अमूर्त ढुंगा स्थापना गरिएको छ जसलाई विष्णुको रुपमा पूजा गरिन्छ । यसको पछाडि भित्तामा सताएर लोकेश्वर, नारायण, गणेश, गरुद्ध नारायण, कल्किनारायण लगायतका विभिन्न देविदेवताका नौवटा ढुंगाका मूर्तिहरु राखिएका छन्। मन्दिरभित्रको पानीलाई बाहिर निकास दिनको लागि उत्तरी भित्ताको भुईंबाट मन्दिरबाहिर ढुंगाको धारा निकालिएको छ ।
मन्दिरको दक्षिणतिर बाटोमा कुनै प्रकारको चित्र वा आकृति नकुँदिएको सामान्य झै देखिने तीनवटा ठूला ढुंगाहरु बिछ्याइएको छ । जसलाई महालक्ष्मी, भैरब र द्धारपालको रुपमा पूजा गर्ने गरिएको छ । यसबाहेक नारायण मन्दिरको पूर्वतिर ईंटाद्धारा निर्मित गुम्बज शैलीको राधाकृष्ण मन्दिर रहेको छ । ने.सं. १०२५ मा स्थानीय विष्णुमाया श्रेष्ठले निर्माण गर्न लगाएको उक्त मन्दिरको अघिल्तिर ६ फिट जति अग्लो ढुंगाको खम्बामा गरुद्ध स्थापना गरिएको छ । कलात्मक काठको खापा सहितको मूलद्धार रहेको यस मन्दिरभित्र राधाकृष्ण बाहेक शिवलिंग र नारायणको मूर्ति पनि रहेको छ ।

Travel Guides

Being the gateway to popular tourist destinations like Bhaktapur, Changunarayan, Dhulikhel, Banepa, Panauti, Jiri, this town itself is also an attractive tourist destination of historical and cultural importance with natural beauty and high geographical features.

Find more on our Guide Book

Location Map