नीलबाराही मन्दिर मध्यपुरथिमि नगरपालिका वडा नं. ९, तिगनिस्थित बनभित्र स्थापित छ । संस्कृति पर्यतन र नागरिक उड्डयन मन्त्रालयले निर्धारण गरेको नेपालका थप १०० पर्यटकीय स्थलहरुको सूचीमा यस नीलबाराही मन्दिर क्षेत्रलाई पनि समावेश गरेको छ । काठमाडौं उपत्यकाभित्र स्थापित चार बाराही पीठ मध्ये एक यस मन्दिरको साँस्कृतिक महत्व उपत्यकाभरी फैलिएको छ ।
क) ऐतिहासिक पृष्ठभूमि
काठमाडौं उपत्यकाभित्र मुख्य चार बाराही पीठको स्थापना गरिएको छ । यी चार बाराहीहरु हुन्– बज्रबाराही, धुमबाराही, श्वेत बाराही र नीलबाराही । देव वंशावलीअनुसार नीलबाराहीकोस्थापना कलिगत सम्वत् २९१२ मा अर्थात् झण्डै २३९० वर्षअघि तात्कालिन राजा विक्रमसेनको पालामा भएको मानिन्छ । त्यसैगरी निलबाराही मन्दिर परिसरभित्र रहेको भनिएको एउटा लिच्छवीकालिन शिलालेख (जुन नीलबाराही स्थानको हिति अहिले भेटिएको छैन) मा राजा जिष्णुगुप्तबारे उल्लेख भएको छ । यदि यो सहि हो भने यसबाट उक्त मन्दिरको स्थापना लिच्छबीकालमा वा त्यसपूर्व भैसकेको देखिन्छ । तर उक्त विवरण लेखिएको भनिएको शिलालेख र यसलाई ठोस पुष्टि गर्ने ठोस जानकारी वा सामग्री समेत फेला पार्न नसकिएको अवस्थामा यसको इतिहास सम्बन्धमा थप अध्ययन अनुसन्धानको आवश्यकता छ । विभिन्न समयमा यस मन्दिर परिसरको संरक्षण, सम्वद्र्धन र मन्दिर वरपरका पाटीहरुको निर्माण गर्दै यस स्थानको विकास र विस्तार गरिंदै आएको कुरा यसै मन्दिर परिसरमा रहेका विभिन्न मल्लकालिन शिलापत्रहरुबाट प्रष्ट हुन्छ । त्यसमध्येको एक शिलालेखअनुसार मन्दिरको तोरण र सिंहको प्रतिष्ठापन ने.सं. ८०५ मा गरेको गरेको देखिन्छ । ने.सं. ८३२ अंकित अर्को शिलालेखमा मन्दिरमा घण्टा चढाएको उल्लेख छ भने यस बाराहीलाई क्वटगु बाराही भनिएको छ । मन्दिर परिसरमा विभिन्न देवीदेवताहरुको स्थापना गरिएका छन्। यसबाहेक भजनकीर्तन आदिको लागि पाटीहरु समेत निर्माण गरिएका छन् भने पछिल्लो समयमा यस क्षेत्रलाई बनभोजस्थलको रुपमा विकास गरी केहि आश्रय स्थलहरुको समेत निर्माण गरिएका छन् । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटीहरु निर्माण गरिएका । मन्दिर प्रांगणभन्दा अलिपर दक्षिण दिशातिर मन्दिर पुग्ने बाटोमैद्वारपाल र नीलविनायकको मन्दिर रहेको छ । पश्चिमाभिमुख नीलविनायक मन्दिर गुम्बजशैलीको छ । यस मन्दिरलाई नील विनायक भन्ने गरिएपनि मन्दिरभित्र गणेशको मूर्ति नभई पूर्ण कलशको घडा स्थापना गरी यसलाई छिफ्वः ले ओढाइएको छ । यसको दायाँबायाँ ढाडमा नाग कुँदिएकोसिंह प्रतिष्ठापन
गरिएको छ । उक्त सिंह र छिफ्वः भक्तपुर तेखाचोबस्नेकृष्णमान खर्बुजाले ने.सं. १०५६ मा चढाएको कुरा सोही मन्दिरमा रहेको शिलापत्रबाट थाहा हुन्छ । यसै मन्दिरमा रहेको अर्को शिलापत्र भने खिइएर पढ्न सकिने अवस्थामा छैन । छिफ्वः ओढाइएको द्वारपालको मूर्ति मात्रै भएकोमा २०५५ सालतिर सिमेन्टको खम्बा उठाएर माथिबाट कंक्रिट स्लाबको छाना हाली मन्दिर जस्तो बनाइएको छ ।
ख) सांस्कृतिक महत्व
वैशाखको १÷२ र यन्याःपुन्हि गरी वर्षमा दुईपटक यस बाराहीको जात्रा सम्पन्न हुन्छ । चैत्र मसान्तबाट प्रारम्भ हुने मध्यपुर थिमिको बिस्का जात्रामा यस बाराहीको पनि जात्रा हुन्छ । यसको द्यःछे“ (देवताको मूर्ति राखिने बासस्थान), पुजारी र गुथि तिगनीमा रहेको छ । मध्यपुर थिमिको बोदेमा हरेकवर्ष संचालन हुने प्रख्यात नीलबाराही नाच यसै मन्दिर परिसरमा रहेको गण ख्यःचाबाट प्रारम्भ भएको विश्वास गरिन्छ । हरेक शनिवारका दिन यहाँ लाग्ने दर्शनार्थीहरुको भीडले पछिल्ला समयमा यस मन्दिरप्रतिकोधार्मिक महत्व र आस्था अझ बढ्दै गएको देखिन्छ । त्यसो त यस बाराहीको महत्व र ख्याती ख्वपसम्म फैलिएको पाइन्छ । ख्वपबासीहरुलेयस बाराहीलाई धनका देवताको रुपमा पूजा गर्ने गर्दछन्र धनबाराही भनेर पुकार्दछन् । हरेक ठूला चाडहरु विशेषगरी बिस्काजात्रा र ठूला भोज आयोजनाको पूर्वसन्ध्यामा ख्वपबासीहरुले निलबाराहीको अनिवार्य पूजा गर्नुपर्ने परम्परा यद्यावधी छँदैछ ।
ग) कलात्मक महत्व
नीलबाराही मन्दिरको भौतिक संरचना एवम् यसको कलात्मक पक्ष चर्चा गर्दा नीलबाराहीको मूर्तिलाई बर्गाकार रुपमा चारैतिर पर्खाल उठाई छानाबिनाको खुल्ला मन्दिरको स्वरुप दिइएको छ । स्थानीय बुढापाकाहरुका अनुसार उक्त मन्दिरमा छाना हाल्न नहुने भन्ने मान्यता रहेको छ । करिब ८ फिट अग्लो उक्त पर्खाल माथि चारकुनाबाट बीच भागसम्म पुग्ने गरी चारवटा चाँदीको नागले ओढाइएको छ । उक्त मन्दिरभित्र पूर्वी गारोमा टाँसेर शिखर शैलीको सानो मन्दिर
बनाएको छ । नीलबाराहीलाई दुईवटा छिफ्वः (तोरण) ले ओढाइएको छ । एउटा सानो छिफ्वः को बाहिर अर्को ठूलो आकारको छिफ्वः बनाइएको छ भने मूर्तिको दायाँबायाँ थुसा राखिएको छ । यसबाहेक मन्दिरभित्रको पूर्वी र पश्चिमी भित्तामा अष्टामातृका र भैरवका विभिन्न शिलाहरु स्थापना गरिएका छन् । पश्चिमाभिमुख यस मन्दिरको मुलद्धारलाई ढुंगाको खम्बाबाट बनाइएको छ । मूलद्धारको दायाँबायाँ सिंहको प्रस्तर मूर्ति स्थापना गरिएको छ र मुलद्धारको दायाँतिर ढुंगाकै खम्बामा ढलौटको घण्टा झुण्ड्याएको छ । मन्दिरको गारोसँग टाँसेर पश्चिमबाहेक तीनतिर चाकःमतः राखिएको छ । पछिल्लो चरणमा मन्दिरको उत्तरपट्टिको पाटी र मन्दिरको बीचमा रहेको स्थानमा बत्ति बाल्ने स्थानको व्यवस्था गरेको छ । जसले मन्दिर परिसरको शोभालाई असर पु¥याउनुका साथै मन्दिर परिक्रमामा समेत अप्ठ्यारो पारेको छ ।