मध्यपुर थिमि नगरपालिका वडा नं ४ सिवाटोलमा अवस्थित बाकाछेँ महादेब मन्दिर परिसर रहेको छ । थिमिको मूलसडकबाट ३०० फिट पूर्वतिर रहेको यस परिसरमा सिवा गणेश, चैत्य, दबली आदि रहेको छ । यहाँ स्थित प्राचीन
महादेव वा शिवको नामबाट यस टोलको नाम सिवा रहन गएको बुझिन्छ । थिमि लाय्कूसँगै रहेको यस परिसरको थिमि ईतिहासमा महत्वपूर्व भूमिका रहेको पाइन्छ । यहाँ स्थित विविध वास्तुकला एवम् शिलालेखको आधारमा थिमि नगरको
सबभन्दा पुरानो ऐतिहासिक स्थलको रुपमा यो परिसरलाई लिन सकिन्छ । यस परिसर भित्र बाकाछेँ महादेव मन्दिरबाहेक सिवा गणेशको मन्दिर, शिवलिंग, उमामहेश्वर, लोकेश्वर, नवदूर्गा आदिका मूर्तिहरु रहेका छन्। जुन मूर्तिहरु कुनै खिइएको, कुनैखण्डित भएको अवस्था छन्। यसैगरी यहाँ ऐतिहासिक एवम् सांस्कृतिक महत्वका डबली, ढुंगेधारा, चैत्यहरु, पोखरी पनि रहेका छन्।
क) ऐतिहासिक पृष्ठभूमि
थिमिको प्राचीन संरचनामध्ये बाकाछेँ मन्दिर पनि एक हो । सिभाटोल स्थित बाकाछेँ महादेव मन्दिरमा प्रतिस्थापित शिलालेख थिमि क्षेत्रमा प्राप्त लिच्छबिकाल पछिका सर्वाधिक पुरानो अभिलेख हो । यक्ष मल्लसंगै जीव मल्लको नाम पनि
उत्कर्ण रहेको सो शिलालेखमा “……….त्रिभैरव स्थान मनोहर थेमी देश पूर्व दिगु विभागे वंखा शिवभट्टारक………..” उल्लेख भएबाट उक्त महादेव मन्दिरको प्रारम्भिक नाम वंखा रहेका थाहा हुन्छ । यहि वंखाबाट परिमार्जन भई बाखाछेँ
महादेव भएको देखिन्छ । यसैगरी यस टोलको नाम समेत यहि महादेव वा शिवको नामबाट सिभा भई सिभाटोल भएको अनुमान गर्न सकिन्छ । सोही शिलालेखमा उल्लेख भएको “……….श्रीयक्षमल्लानुजः शास्त्रवेदीः श्रीजीवमल्लो नृपरत्नमूर्तिः ।। तयोद्र्वयोव्र्विजयराज्ये ।। ……… देवल प्रतिष्ठा दिन……….” २२ भन्ने वाक्यांशले उक्त मन्दिर यक्ष मल्ल र जीवमल्लको संयुक्त शासनकालमा बनेको थाहा हुन्छ भने नेसं ५६४ बाट यक्ष मल्लको एकलौटी शासन देखिएबाट२३ उक्त मन्दिर यसअघि नै निर्माण भएको प्रष्ट हुन्छ । बाकाछेँ महादेव मन्दिरको टुँडालमा ने.सं. ७५७ कुँदिएबाट निर्माण भएको करिब २०० वर्ष पछि उक्त मन्दिरको जीर्णोद्धार गरिएको थाहा हुन्छ । यसैगरी २०५४ सालमा पुरातत्व विभाग र स्थानीय समुदायको सहयोगमा पुनः जीर्णोद्धार गरिएको थियो । यस बाहेक सिभाटोलको रहेको डबली नेसं ७८६ मा निर्माण भएको पाइन्छ कुरा सोहि डबलीमा राखिएको शिलालेखबाट थाहा हुन्छ ।
ख) सांस्कृतिक महत्व
थिमिको ईतिहास अध्ययनको क्रममा भेटिने रोचक प्रसंगमध्ये बाकाछेँ महादेवको प्राचीनता र यसको सांस्कृतिक महत्व पनि एक हो । यो मन्दिर थिमिको प्राचीनतम् अत्यन्त थोरै सम्पदाहरुको सूचीमा पर्दछ । तर जसरी थिमि क्षेत्रमा वर्षभरी मनाइने विभिन्न चाडपर्व र संस्कारमा अन्य सम्पदाहरु जस्तै लाय्कू, बालकुमारी, सिद्धिकाली, विष्णुवीर आदिको संलग्नता र सम्बन्ध देखिन्छ, त्यसको तुलनामा यस महादेवको सांस्कृतिक सम्बन्ध देखिंदैन । जस्तै बाकाछेँ महादेवभन्दा
निकै पछि स्थापना गरिएका देवीदेवताहरुको समेत बिस्काजात्रामा खतयात्रा गरिन्छ तर यहाँ महत्वपूर्ण उक्त जात्रामा यस महादेवको सहभागिता मात्रै नभई संलग्नता समेत छैन । अझ भन्नुपर्दा उक्त जात्राको क्रममा संचालन गरिने कुनै पनि
साँस्कृति क्रियाकलाप यस महादेवसँग सम्बन्धित अर्थपूर्ण छ । यद्यपी महादेवको नित्य दर्शन र यसप्रतिको आस्था भने रहेकै छ । बाखाछेँ महादेव मन्दिरसँगै रहेकोसिवा गणेश (सिद्धिगणेश) लाई थिमि बिस्काजात्रा सिद्धिकाली गण अन्तर्गत रहेर जात्रा गरिन्छ ।
ग) कलात्मक महत्व
प्यागोडा शैलीमा निर्मित पश्चिमाभिमुख बाकाछेँ महादेव मन्दिरको थिमिको प्राचीनतम् सम्पदा हो । दुईतले यस मन्दिरको उचाइ करिब ३० फिट रहेको छ । झिंगटीले छाएका मन्दिरका छानाहरुको चारैकुनामा राखिएका माटोको ग्वंगःचा
शोभायमान छ । पश्चिम मोहडामा कलात्मक खापासहितको मूलढोका रहेको छ भने मन्दिरको तीनै मोहडामा गारो लगाएको छ । मूलद्धारमाथि शिव, गणेश, कुमारको आकृति कुँदिएको कलात्मक तुलं रहेको छ । मन्दिरको चारैतिर वरपरको जमीनभन्दा करिब १८ इन्च अग्लो २ फिट चौडा फः वा फले (पेटी) बनाइएको छ । फलेमुनि मूलद्धारको दायाँबायाँ पारेर सिँहको शिलामूर्ति रहेको छ । एउटा केही खिइसकिएको छ भने एउटा फुटेर टाउको नभएको अवस्थामा छ । त्यसैगरी मूलढोकाको ठिक अघिल्तिर ढुंगाका दुईवटा थुसा (बसाह) स्थापना गरिएका छन्। एउटाको फुटेर टाउको नभएको र अर्को निकै खिइसकेको छ । मन्दिरको अगाडि बायाँ पारेर सिमेन्ट कंक्रिटको पिलरमा दिव्य घण्टा झुण्ड्याइएको छ । अन्य मन्दिरमा झैं पछाडिपट्टिकोगारोमा नासःप्वाः बनाइएको छ । प्यागोडा शैलीको दुईतले यस मन्दिरको छाना पनि तामाले छाएको छ । तीनतिर खुल्ला भएको दक्षिणाभिमुख यस मन्दिरको भुईं जमिन सतहभन्दा करिब १८ इन्च उठाइएको छ । मन्दिरको चारैतिर मन्दिर परिक्रमा गर्न पेटीको साथै चाकःमतः बनाइएको छ । पहिलो छानालाई विभिन्न देविदेवताको आकृति कुँदिएका टुँडालहरुले थामेका छन्र छानाको लगत्तैमुनि मन्दिरको चारैतिर एकएक वटा तिकिझ्याः राखिएको छ । यसैगरी दोस्रो छानामुनिको गारोमा चारैतिर छपाझ्याः राखिएको छ । यसै छानाको टुप्पामा स्वर्णलेपन गरिएको धातुको गजूर रहेको छ ।