पुरातात्विक महत्वको कालिका (कुमारी) मन्दिर मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोदेस्थित तांक्वटोलमा अवस्थित छ । यो मन्दिर परिसर प्राचीन बोदे बस्तीभन्दा बाहिर करिब ५० फिटको दूरीमा पश्चिमी दिशामा रहेको छ । यस देविस्थानलाई तांक्व (अर्थात्ओरालो मुनि) भनिन्छ । मन्दिरको पश्चिम पट्टि एउटा पाटी बनाइएको छ । मन्दिरभन्दा पूर्व ओरालोको बायाँतिर ढुंगे धारो रहेकोछ भने धाराको पानी जम्मा हुने गरी संगै एउटा सानो पोखरी समेत रहेको छ । मन्दिरको पूर्व करीब १५ मिटरको दूरीमा अर्को ढुंगेधारो रहेको छ । हालसालै मात्र मन्दिर परिसरलाई मध्यपुर थिमि नगरकै नमुनाको रुपमा संरक्षण र सम्वद्र्धन गरिएको छ । मन्दिर प्रांगणमा ढुंगा छाप्नेदेखि यहाँस्थित धारा, पाटी र पोखरीको पुनर्निमाण गरिएको छ । यस बाहेक समग्र परिसरलाई
हरियालीयुक्त उद्यानको रुपमा विकास गरिएको छ ।
क) ऐतिहासिक पृष्ठभूमि
यस मन्दिर बोदे क्षेत्रको अर्को ऐतिहासिक महत्व बोकेका सम्पदा हो । मन्दिर परिसरमा रहेको ने.सं. ७६३ को शिलालेख अनुसार तात्कालिन समयमा यस पीठलाई मन्दिरको रुपमा बिस्तार गरिएको हो । यसबाट यस पीठको स्थापना यसअघि नै भइसकेको प्रष्ट हुन्छ । त्यसपछि उक्त मन्दिरलाई ने.सं. ८१९ मा जीर्णोद्धार गरिएको कुरा मन्दिरमा रहेको अर्को अभिलेखबाट थाहा हुन्छ ।
ख) सांस्कृतिक महत्व
कालिकालाई महत्वपूर्ण शक्तिपीठको रुपमा विभिन्न अवसरमा पूजा आराधना गर्ने गरिन्छ । विशेषगरी गणेश चौथिको दिन तान्त्रिक विद्या जान्नेहरुले यसको पूजाआजा गर्ने गरिन्छ । मध्यपुरथिमिको प्रसिद्ध बिस्का जात्राको क्रममा बैशाख १ गते राती बोदेमा संचालन हुने चान्हसिया जात्रा मा सहभागी गराइने बोदेका सम्पूर्ण खतहरुलाई यस मन्दिर परिसरसम्म लगेर जात्रा गरिन्छ । यस क्रममा सम्पूर्ण मन्दिरलाई यसै परिसरमा बिसाएर रातभरी भजन कीर्तन हुन्छ भने ती खतहरुलाई पुनः बिहान सबेरै बोकेर बोदेको लाय्कूको उत्तरतिर पाच्वस्थित गणेश मन्दिर परिसर (जहाँ बैशाख २ गने जिब्रो छेड्ने गरिन्छ) मा बिसाइन्छन् । जात्राको क्रममा खतलाई नगरपरिक्रममा गराउँदा पाचो स्थित गणेशले अघिल्तिर बसेर यात्रालाई अगुवाइ गर्दछ भने कुमारी अन्तिममा बसेर सबैलाई सुरक्षा प्रदान गरेको हुन्छ भन्ने जनधारणा रहेको पाइन्छ । यसरी बादेको बिस्का जात्रालाई सुरक्षा प्रदान गर्ने एवम् बोदे नगरक्षेत्रको नगर देवता मानिने महालक्ष्मीको खत समेत लगेर यस मन्दिर परिक्रमा गरेर जात्रा गर्नुपर्ने परम्परा रहेबाट यस शक्ति पीठ धार्मिक एव्म साँस्कृतिक रुपमा निकै महत्वपूर्ण पीठको रहेको देखिन्छ ।
ग) कलात्मक महत्व
करीब २२ फिट अग्लो उत्तराभिमुख यो मन्दिर एक तल्लाको छ । झिंगटीले छाएको मन्दिरको छानामाथि तीनवटा गजूरहरु लहरै राखिएका छन् । मन्दिरको छानामुनि चारैतिरको गारोमा छपाझ्याः राखिएको छ । अन्य मन्दिरमा झै मन्दिरको अगाडि र दायाँबायाँ तीनतिर खुला छ । अगाडिको कलात्मक मोहडामा मूलद्वारको दुईतिर कवलहरु बनाइएको छ भने मन्दिरको मूलद्धारमा आँखीझ्याल जस्तो बुट्टेदार खापा लगाइएको छ । मन्दिरको मुलद्धारलाई केन्द्रभागमा कालिकाको मूर्ति एवम् गरुड, १६ हाते, ४ हाते विभिन्न देवीदेवताको मूर्तिहरु कुँदिएको कलात्मक तुलं ले ओढाइएको छ । जानकारी अनुसार बि.सं. २०५४ सालमा यस मन्दिरको ठीक अघिल्तिर कंक्रिटको १५-१६ फिट अग्लो खम्बामाथि ढलौटको मयूरको मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिरभित्र पछाडिको भित्ताभन्दा केही केहि बित्ता अगाडि बीच पारेर कालिका स्थापना गरिएको छ । बिना कुनै आकृतिको उक्त मूर्ति सादा चिप्लो ढुंगाको रुपमा रहेको छ । मूर्तिको ठिक पछिल्तिरबाट १ फिट चौडा र १.५ फिट अग्लो कलात्मक छिफ्वः ले ओढाइएको छ र यसको दायाँबायाँ दुई जोडी सिंह प्रतिस्थापन गरिएको छ । एक जोडी कालिकाको अघिल्तिर र अर्को जोडी पछिल्तिर पारेर स्थापना गरिएको छ । यसको दायाँबायाँ ससाना अमूर्त ढुंगाहरुलाई अष्टमातृकाको रुपमा प्रतिस्थापन गरिएको छ । कालिकाको ठिक माथि सिलिंगमा ढलौटको इलां रहेको छ भनेमन्दिरभित्रको भित्रि भित्तामा कवां (कंकाल) को चित्र लेखिएको छ ।