सुनगा:द्यो (विष्णुवीर मन्दिर)

विष्णुवीर मन्दिर थिमि, सुंगाटोलमा स्थित एक महत्वपूर्ण शक्तिपीठ हो, जसको ऐतिहासिक, सांस्कृतिक, र कलात्मक महत्त्व छ र यो थिमिको बिस्काजात्रामा प्रमुख देवताको रूपमा पूजा गरिन्छ।

Vishnu Bir Temple Sungaa:dyo

विष्णुवीर मन्दिर मध्यपुर थिमि नगरपालिका वडा नं ४ थिमि, सुंगाटोलमा अवस्थित छ । थिमि नगरको पश्चिमपट्टि स्थापित यो शक्तिपीठलाई थिमिको अष्टमातृका अन्तर्गत वैष्णवीको रुपमा लिइन्छ । स्थानीय बुढापाकाहरु हालको यो पूर्वाभिमुख यो मन्दिर चीनकालमा पश्चिमाभिमुख थियो भन्ने किम्बदन्ती सुनाउँछन् । किम्बदन्तीअनुसार एकताका काठमाडौं र भक्तपुरबीच लडाईं भएको बेला काठमाडौंले सधैं हार व्यहोर्नु परेकोरहेछ । पछि भक्तपुरमाथि विजय प्राप्त गर्न नसक्नुको कारण थिमिको शक्तिपीठ विष्णुवीर रहेको भन्ने बुझेछन् । त्यससमय थिमिबासीले विष्णुवीरलाई आफ्नो रक्षकको रुपमा पूजा गर्दथे र कुनै पनि लडाईंमा यसको आराधना गर्ने गरिन्थ्यो । त्यसपछि विभिन्न दाउपेच लगाएर विष्णुवीरलाई पूर्व फर्काएछ र त्यसपछि बल्ल काठमाडौंले विजय प्राप्त गरेछ ।

क) ऐतिहासिक पृष्ठभूमि

विष्णुवीरको स्थापना कहिले कसरी भयो भन्न सकिने ठोस आधारहरु हालसम्म भेटिएको छैन । विष्णुवीर मन्दिरको उत्तरी भित्तामा टाँसेर बनाइएको सरस्वती मन्दिरभित्र रहेको शिलापत्रमा उक्त सरस्वती मन्दिर ने.सं. ९८० निर्माण गरेको विवरण पाइन्छ । त्यसैगरी मन्दिर अघिल्तिर रहेको घण्टामा उत्कीर्ण विवरणमा उक्त घण्टा बि.सं. १९६४ चढाइएको उल्लेख छ । यसबाहेक मन्दिर र मन्दिर परिसरभित्र अन्य प्राचीन अभिलेख नरहेकोले विष्णुवीरसम्बन्धी ऐतिहासिक जानकारी अनुसन्धानको गर्भमै रहेको छ ।

ख) सांस्कृतिक महत्व

विष्णुवीरलाई थिमि नगरमा स्थापित अष्टमातृकागण अन्तर्गतको वैष्णवी स्वरुपमा लिइन्छ । यसको सांस्कृतिक महत्वको कुरा गर्दा विशेषतः थिमिको बिस्काजात्रामा सर्वप्रथम जात्राको लागि प्रदर्शनीमा लगिने देवता विष्णुवीर रहेको छ । यसपछि मात्रै अन्य देवीदेवताको प्रदर्शनी निकालिन्छ । यस अर्थमा विष्णुवीरको मूर्ति प्रदर्शनी पछि थिमि बिस्काजात्रा अन्तर्गत खतजात्रा प्रारम्भ हुने गरेको देखिन्छ । उक्त खतजात्रामा क्वलाखुक्षेत्र अन्तर्गत विभिन्न टोलमा स्थापित पाँच गणेश (पतसिको गणेश, थासमा गणेश, भादे इनाय्, तछु गणेश र दथुत्वा गणेश) को नेतृत्व विष्णुवीरले गर्दछ । विष्णुविरको जात्रा चैत्र मसान्तको साँझबाट प्रारम्भ हुन्छ । यसदिन द्यःब्वये यंकेगु(खतजात्राको ढलौटको मूर्तिलाई मन्दिरमा लगेर प्रदर्शनीमा राखिने) गरिन्छ । विष्णुवीरको नेतृत्वमा हुने खतजात्रा भने वैशाख १ गते साँझबाट प्रारम्भ हुन्छ । यसलाई सुंगाद्यः जात्रा, बाँय्लिसिया जात्रा भनिन्छ । यो जात्रा थिमिको झण्डै ८० प्रतिशत भूभाग परिक्रमा गरेर सम्पन्न गरिन्छ । यसबाट विष्णुवीरको सांस्कृतिक महत्व र व्यापकता बुझन सकिन्छ । त्यसैगरी विष्णुवीर खतजात्रासँग सम्बन्धीत एउटा रोचक प्रचलन यहाँनिर उल्लेखिनीय छ । वैशाख १ गते साँझ सुंगाद्यः जात्राको क्रममा विष्णुवीरको खतलाई मन्दिर प्रांगनबाट उत्तरपूर्व रहेको कय्कुतांसम्म पुऱ्याइन्छ र यहाँ सबै गण भेला भएर जात्रा प्रारम्भ हुन्छ । यसरी कय्कुतांसम्म पुऱ्याउने क्रममा सुंगाटोलबाट कय्कुतां सम्मको बाटोमा धिमेबाजा नबजाईकन सि:बाजं (शवयात्राको क्रममा बजाइने बाजा) बजाएर लगिन्छ र जात्रामा सहभागीहरुले पनि शवयात्रामा झै टोपी फुकाल्नु पर्दछ । यस बेला बजाइने बाजा, सहभागीहरु कोशान्त र मलिन गतिविधिले शवयात्राको झल्कोदिन्छ । यसबाट विष्णुवीरको खतजात्रालाई अन्य जात्रा भन्दा रोचक र पृथक बनाएको छ । सांस्कृतिक महत्वको अर्को पक्षको रुपमा वैशाख २ गते हुने बालकुमारीको जात्रामा विष्णुवीरको भूमिकालाई लिन सकिन्छ । यस दिनको खतजात्रामा सम्पूर्ण खतहरुलाई थिमि मुलबाटो हुँदै क्वलाखुदेखि दिगुटोलसम्म परिक्रमा गराइन्छ । यस क्रममा क्वलाखुबाट बालकुमारीको खत थिमिको मूल सडक हुँदै ल्याउँदा लाय्‌कूको मूल प्रवेशद्धारमा कुनै अवरोध नभएको अवस्थामा बालकुमारीलाई लाय्‌कू प्रवेश गराइन्छ र जात्रा सम्पन्न हुन्छ । जबकि यस जात्राको प्रचलन अनुसार बालकुमारीको खतलाई दिगुभैरब र बालकुमारी मन्दिरको ३ पल्टसम्म परिक्रमा गराउनु पर्दछ । तसर्थ बालकुमारीलाई शिघ्र मध्यपुरथिमिका प्रमुख ऐतिहासिक सम्पदाहरु द्धट
लाय्‌कू प्रवेशबाट रोक्नको लागि विष्णुवीर र दक्षिणबाराही गणले पालैपालो मूल प्रवेशद्धारमा छेक्ने कार्य गर्दछ र पूर्ण परिक्रमा पछि मात्रै प्रवेशको लागि बाटो छोडिदिन्छ ।

ग) कलात्मक महत्व
विष्णुवीरको प्राचीन मन्दिर १२ कुने रहेको भएपनि हालको मन्दिरको संरचना चारकुने रहेको छ । गुम्बज शैलीको यस मन्दिरको उचाइ करिब १५ फिट रहेको छ । मन्दिर चारपाते किलामाथि ईंटाबाट झण्डै १८ इन्चको उचाइका दुई तह प्यागोडा शैलीमा गारो उठाइएको छ । यसको चारकुनामा ज्वःलान्हाय्कं (एक प्रकारको पवित्र ऐना) राखिएको छ । प्यागोडा शैलीको गारोबाट गुम्बज बनाइएको छ । गुम्बजमाथि गजूर रहेको छ । पूर्वाभिमुख मन्दिरको मूलद्धार ढुंगाको खम्बाले बनेको छ र यसको दायाँबायाँ सिँहको शिलामूर्ति रहेको छ । मूलद्धारको दाहिनेपट्टि शिलास्तम्भमा दिव्यघण्टा झुण्ड्याइएको छ । मन्दिरको चारैतिर चाकःमतः रहेको छ । मन्दिरको अघिल्तिर ३ फिट अग्लो शिलास्तम्भमाथि हात जोडेका गरुद्धको शिलामूर्ति रहेको छ । मन्दिरभित्रको भुईं ढुंगाले छापेको छ र बीच पारेर निराकार शिलामूर्तिहरु रहेका छन् । यसलाई ढुंगाको छिफ्वःले ओढाएको छ । मन्दिरबाहिर उत्तरी गारोमा सताएर सरस्वतीको सानो मन्दिर रहेको छ । गुम्बज शैलीको उक्त मन्दिर पनि पूर्वाभिमुख छ । जमिन सतहभन्दा २ फिट माथि उठेको उक्त मन्दिरको मूलद्धार पनि ढुंगाको खम्बाद्धारा निर्मित छ । मन्दिर परिसरको उत्तरपश्चिमी कुनामा सिद्धिकालीको मूर्ति रहेको छ । यसैगरी नित्य भजनको लागि मन्दिरको पूर्व, पश्चिम र उत्तरतिर आधुनिक शैलीको पाटी निर्माण गरिएको छ ।

Travel Guides

Being the gateway to popular tourist destinations like Bhaktapur, Changunarayan, Dhulikhel, Banepa, Panauti, Jiri, this town itself is also an attractive tourist destination of historical and cultural importance with natural beauty and high geographical features.

Find more on our Guide Book

Location Map