मध्यपुर थिमि नगरपालिका वडा नं ७ नगदेश, न्यागाःटोलमा सिद्धिगणेश द्यःछेँ“ (सिद्धिगणेशको मूर्ति विराजमान गराइने सतल वा भवन) अवस्थित छ । उक्त द्यःछेँ“ को कलात्मक पक्षले नगदेशको न्यागाः टोललाई मात्र नभई समग्र नगरलाई नै शोभायमान र गौरवान्वित बनाएको छ । संरचनाको बीच भागमा बनाएको बडेमानको द्वारले द्यःछेँ“ लाई अद्धितीय बनाएको छ । यसको पहिलो तलामा रहेको लु“तिकिझ्याः (स्वर्ण आँखीझ्याल) ले त यसको महत्व र शोभालाई थप निखारेको मात्रै छैन भने मध्यपुरथिमि क्षेत्रकै एउटा उत्कृष्ट नमुनाको रुपमा रहेको छ । पुरातत्व विभाग र स्थानीय सहयोगबाट २०५९ सालमा यसको जीर्णोद्धार गरिएको थियो ।
क) ऐतिहासिक पृष्ठभूमि
सिद्धिगणेश द्यःछेँ“को पौभाः चित्र भेटिएको छ जसलाई एक प्रकारले नक्सा पनि भन्न सकिन्छ । चित्रमा उत्तरी र पूर्वी मोहडा देखिने गरी आइसोमेट्रिक भ्यू बनाइएको छ । उक्त पौभामा द्य छेँ ने.सं. ९६१ मा भक्तपुर खौमाटोलका रुद्र नारायण राजलवत (प्रधानांग) ले बनाउन लगाएको कुरा उल्लेख छ । उक्त अभिलेख अनुसार उनले त्यस समय सिद्धिगणेश मन्दिरको मर्मत पनि गराएको थाहा हुन्छ ।
ख) सांस्कृतिक महत्व
यस द्यःछेँ“ को सांस्कृतिक महत्व सिद्धिगणेशसँग जोडिएर आउँछ । सिद्धिगणेशको बासस्थान भएकोले हरेक वर्ष जात्रा गरिने सिद्धिगणेशको मूर्ति र खत लगायत सिद्धिगणेश एवम् यसको सांस्कृतिक क्रियाकलापसँग सम्बन्धित सम्पूर्ण सरसामानहरु यहिं भण्डारण गरिन्छ । देवताको बासस्थान भएकोले यो संरचना आफैमा मन्दिरको रुपमा लिने र श्रद्धा गर्ने गरिन्छ । हरेक मंगलबारको दिन र सानाठूला चाडपर्वमा सिद्धिगणेशको पूजा गर्न भक्तालुहरु द्यःछेँ पुग्ने गर्दछन्। हरेक वर्ष यन्याःपुन्हिंको दिन सिद्धिगणेश गुथिको पालं चिनेगु (गुथि चलाउने पालो फेर्ने) गरिन्छ । यसदिन बेलुकी यसै द्यःछेँ“ परिसरबाट सिद्धिगणेशको खतयात्रा प्रारम्भ भई नगर परिक्रमा पश्चात् यहिं पुगेर सम्पन्न गरिन्छ । यसैगरी बैशाख २ गतेको सिद्धिगणेश जात्रा पनि यहि द्यःछेँ अगाडी बिसाएर समापन गरिन्छ ।
ग) कलात्मक महत्व
एक नाले र तीन तले सिद्धिगणेश द्यःछे“को पूर्वपश्चिम लम्बाइ करिब ८० फिट र उत्तरदक्षिण चौडाइ १३ फिट रहेको छ भने उचाइ ३५ फिट रहेको छ । यस द्यःछेँ“ को उत्तरी मोहडा बीचमा उत्तरदक्षिण वारपार हुने गरी १४ फिट अग्लो ७ फिट चौडा बडेमानको मुलद्वार (ध्वाका) बनाइएको छ । उक्त ध्वाकाले द्यःछेँलाई पूर्वी र पश्चिमी भागमा छुट्याएको छ । भुईंतलाको उत्तरी मोहडामा पूर्वी र पश्चिमी भागमा तीन तीन कवलको पाटी र यसको दायाँबायाँ कलात्मक ढोका राखिएको छ । द्यःछेँको पूर्वी र दक्षिणी मोहडामा भने कुनै प्रकारको ढोका वा झ्याल राखिएको छैन । कलात्मकताको हिसाबले यी मोहडाहरु खास देखिँदैन । द्यःछेँको पूर्वी र पश्चिमी छेउमा भऱ्याङ राखिएको छ । द्यःछेँको उक्त ध्वाकामाथि अत्यन्त कलात्मक ठूलो तुलं राखिएको छ । सामान्यतया मूलद्धारको तुलंको बीचमा सम्बन्धित मन्दिर वा द्यःछेँ“ भित्र रहेको देवताको प्रतिमूर्ति रहने गर्दछ । तर उक्त तुलंको केन्द्रभागमा भने भगवती र दायाँबायाँ गणेश र कुमारको मूर्ति राखिएको छ । यसबाट उक्त द्यःछेँ“ तलेजु रुपमा बनाइएको होकि भन्ने देखिन्छ ।
मातंतला (पहिलो तला) को पूर्वी भागमा बीच पारेर तीनमुखी सझ्याः र यसको दुईतिर तिकिझ्याः राखिएको छ । पश्चिमी भागमा पाँचमुखी पासुकाझ्याः र यसको दुईतिर पनि तिकिझ्याः राखिएको जसमध्ये पूर्वतिरको तिकिझ्याःलाई धातुले मोडेर स्वर्णलेपन गरिएको छ । सुरक्षाको लागि उक्त स्वर्ण तिकिझ्याःलाई हाल बाहिरबाट फलामको बाक्लो जालीले छोपिएकोहुँदा यसको सौन्दर्य पूर्णतः लुप्त छ । स्वर्ण तिकिझ्याः भएको कोठामा सिद्धिगणेशको मूर्ति राख्ने गरिएको छ भने अन्य कोठाहरु विभिन्न प्रयोजनको लागि प्रयोग गर्ने गरिएको छ । यो तलाको पूर्वी मोहडामा पनि एउटा तिकिझ्याः रहेको छ भने दक्षिणी मोहडामा कुनै प्रकारको झ्याल राखिएको छैन । द्यःछेँको च्वता (दोस्रो तला) मा उत्तरी मोहडामा ध्वाकाको ठीक माथि पाँचमुखी संझ्याः राखिएको छ । यसको पूर्व र पश्चिमतिर दुईदुई वटा एकमुखी संझ्याः राखिएको छ । यसैगरी पूर्वी मोहडामा एक वटा एकमुखी सझ्याः रहेको छ भने दक्षिणी मोहडामा सादा झ्यालहरु लहरै राखिएको छ । यो तलाको प्रयोग विशेषगरी लस्करै बसेर भोज खान मिल्ने गरी खुल्ला राखिएको छ । झिंगतिले छाएको छानाको बीचबाट फुचा उठाइएको छ ।