मध्यपुर थिमि: ऐतिहासिक र सांस्कृतिक सम्पदामा सम्पन्न प्राचीन नेवार बस्ती

नेवार सभ्यता र सांस्कृतिक सम्पदाको अनमोल खजाना

Madhyapur-thimi-(25)

भौगोलिक विवरण

भक्तपुर जिल्ला बागमती प्रदेश अन्तर्गत पर्ने काठमाण्डौ उपत्यकाको मध्य भागमा अवस्थित सुन्दर सानो मध्यपुर थिमि नगरपालिका वि.स. २०५३ साल चैत्र १४ गते तत्कालिन पाँचवटा गा.वि.स.हरु क्रमश बोडे, नगदेश, चपाचो, बालकुमारी र दिब्यश्वरीलाई गाभी नगरपालिका घोषणा भएको थियो । ११.४७ बर्ग कि.मि.क्षेत्रफल फैलिएको यो नगरको मुख्य भुभाग समुद्री सतहवाट १३२६ मिटरको उचाईमा अवस्थित छ । १७ वटा वडा रहेको यस नगरपालिका स्थानीय तहको पुनः संरचनाको क्रममा ९ वटा वडामा विभाजन गरिएको छ । पछिलो राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार यस नगरपालिकाको जनसंख्या ११९,७५६ (पुरुष ६०,७४६, महिला ५९,०१०), घर संख्या १७,६३९, परिवार संख्या ३१,९६६ र जनघनत्व १०,४४० रहेको छ । तर ब्यापार व्यवसाय, रोजगारी तथा अध्ययनको सिलसिला सहित अस्थायी बसोवास गर्नेहरुको संख्या गणना गर्दा यस नगरपालिकामा अन्दाजी १५०,००० जनसंख्या बसोसास रहेको अनुमान गर्न सकिन्छ ।

काठमाण्डौ उपत्यकाका १८ वटा नगरपालिकाहरु मध्ये क्षेत्रफलको आधारमा भक्तपुर नगरपालिका पछिको दोश्रो सानो र जनघनत्वको हिसावले दोश्रो धेरै जनघनत्व बसोबास रहेको क्षेत्रको रुपमा यो नगरपालिका रहेको छ । मुख्यतया उपत्यकाका मनोहरा तथा हनुमन्ते नदिले यो नगरको सिमा रेखा कोरेको छ । यस नगरको पूर्वमा भक्तपुर नगरपालिका र चागुँनारायण नगरपालिका, पश्चिममा काठमाण्डौ महानगरपालिका, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सुर्यविनायक नगरपालिका र महालक्ष्मी नगरपालिका रहेका छन । यो नगरपालिका त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलवाट करिव १ कि.मि. भन्दा पनि कम क्षितिजिय दुरीमा अवस्थित रहेको छ भने विमान स्थलवाट केवल १० मिनेटमै यो नगरपालिका क्षेत्रमा प्रवेश गर्न सकिन्छ । काठमाण्डौ र भक्तपुरको वीचमा तथा उपत्यकाको तीनवटै शहरको समदुरीमा दायाँ बायांको जमिन भन्दा केहि उच्च थुम्की परेको स्थानमा टिगनी, बोडे, नगदेश, थिमि र दिव्यश्वरी जस्ता ऐतिहासिक बस्तीहरुको स्थापना लिच्छवीकालमै भएको पाईन्छ । मल्लकालमा थप विकास तथा विस्तार भएका यी क्षेत्रहरु नै आज यस नगरपालिकाका पुराना बस्ती तथा बजार क्षेत्र मानिन्छ ।

सांस्कृतिक विवरण

सांस्कृतिक सम्पदा मध्यपुर थिमि नगरपालिकाको मुख्य पहिचानको रुपमा रहेको छ । हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पति भन्ने मुल नारालाई आत्मसात गर्दै आएको मूर्त तथा अमूर्त सम्पदाको धनी यस नगरमा अवस्थित विभिन्न ऐतिहासिक मठ मन्दिर,पाटी पौवा, देवालय र बुद्ध विहार तथा यस क्षेत्रमा बर्षेनी मनाईने विभिन्न जात्रा चाड पर्वहरुको कारणले गर्दा यो नगरको चर्चा राष्ट्रिय स्तरमा मात्र नभई अन्तरराष्ट्रिय स्तरमा पनि हुने गर्दछ । नगरपालिका क्षेत्रमा रहेका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुमा उपत्यकाको चार बाराही मध्येको एक निलबाराही मन्दिर, महालक्ष्मी मन्दिर, कुमारी मन्दिर, सिद्धिगणेश मन्दिर, सिद्धिगणेश द्योक्षे, बोडे लायकु दरवार,नगदेश लायकु दरवार, थिमि लायकु दरवार, सिद्धिकाली मन्दिर, दिगु भैरब, लोकेश्वर मन्दिर, बालकुमारी मन्दिर, ताहानारायण मन्दिर, बाखाछें महादेव मन्दिर, विष्णुविर मन्दिर, नगदेश बुद्ध विहार, पाटी विहार, दिगुबहाः (गुणकिर्ति महाविहार), धर्मचक्र गुम्वा, गुङ्गचिवा, बप्पा विश्वेश्वर महादेव, सिलेश्वर महादेव, दिब्यश्वरी मन्दिर, नात्यश्वरी मन्दिर, श्यामाश्यामा धाम राधेराधे मन्दिर आदि रहेका छन् । साथै पछिल्लो समय निर्माण, पुनः निर्माण र संरक्षण गरिएका शंखधर पार्क, बनदेवी पार्क, निगु पुखु(दुईपोखरी), पलेस्वाँ पुखु(कमल पोखरी), कुमारी पार्क, विपि पार्क आदि पर्यटकीय दृष्टिले ज्यादै उपयुक्त गन्तव्य स्थलको रुपमा विकसित भईरहेको छ । विस्का ः जात्रा, जिव्रो छेडने जात्रा, गाईजात्रा, ईन्द्रजात्रा, खड्ग जात्रा, दिपंकर जात्रा र पुलुकिसि जात्रा यस नगरमा मनाईने प्रमुख जात्रा हुन् भने महाकाली नाच, भैरब नाच, निलबाराही गण नाच, ईन्द्र अप्सरा नाच, हनुमान नाच, अष्टमात्रिका नाच, मयुर नाच, आदि प्रमुख नाचहरु हुन । नगरपालिका क्षेत्रका यी मूर्त तथा अमूर्त सम्पदा संरक्षण र सम्वद्र्धन गर्न नगरपालिका निरन्तर लागि परेको छ साथै टोल बस्तीहरुको स्थानीय मौलिक नामलाई अपभ्रंस, परिवर्तन वा प्रयोगविहिन हुनवाट जोगाएर अभिलेखिकरण एवम् प्रतिष्ठापन गरेर मध्यपुर थिमि क्षेत्रका टोल बस्तीको इतिहास एवम् संस्कृतिको साथै पहिचानलाई समेत जगेर्ना गर्न रणनीतिक कार्ययोजनाका साथ नगरपालिका क्षेत्रका टोल बस्तीको मौलिक स्थान–नाम पुनःस्थापना तथा स्थान नामांकरण कार्यको थालनी भईरहेको छ ।

काठमाण्डौ उपत्यकाका आदिवासी नेवार जातिहरु परापूर्व काल देखिनै थुम्कोमा गुचमुच घर बनाएर बस्ने र फेदीका उर्वर फाँटमा कृषिबाली लगाउने गर्थे । एक समय त आफ्नो श्रम र श्रृजनाका लागि प्रसिद्ध मध्यपुर थिमि क्षेत्रको तरकारीले काठमाण्डौको दैनिक आवश्यकताको करिब आधा हिस्सा आपुर्ति गर्थे र मध्यपुर थिमिलाई उपत्यकाको करेसा बारीको(हरित बगैचा) रुपमा पनि लिईन्थ्यो । नगदेश लगायत यहाँ क्षेत्रका बासिन्दाले उत्पादन गर्ने चम्सुर, पालुङ्गो, रायो, हरियो लसुन, काउली लगायतका हरियो सागसब्जी यहाँको कहलिएको उत्पादन थियो । यसै गरी थिमिमा परम्परागत प्रविधिको प्रयोग गरि बनाईने माटोको भाँडाको बेग्लै पहिचान छ । वडा नं. ५ र ६ क्षेत्रका बासिन्दाले परम्परागत रुपमा बनाईने माटोको भाँडाकुँडा र मूर्ति बनाउने कार्यले एकातिर स्थानीय बासीलाई स्वरोजगार बनाईएको छ भने अर्को तर्फ जीवन्त संग्रहालयको रुपमा यो क्षेत्र विकसित हुँदै गएको छ । परम्परागत पेशाकै रुपमा रहेको मुकुण्डो बनाउने, कपडा बुन्ने र टिगनीमा बनाईने चिउराको चौतर्फी प्रशसा हुने गर्दछ । नगरको पहिचान र रोजगारीसंग सम्वन्धित परम्परागत पेशाको संरक्षण र प्रवद्र्धनमा नगरपालिकाले विशेष प्राथमिकता दिई सीप विकास तालिम, सचेतना अभिवृद्धि कार्यक्रम, पूर्वाधार सहयोग कार्यक्रम, प्रचार प्रशार तथा उत्पादित सामाग्रीहरुको प्रदर्शनी मेला र महोत्सवको आयोजना नियमित रुपमा गर्दै आईरहेको छ ।

नगरपालिकामा शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको विकास

पर्यटकीय एवँ सांस्कृतिक सम्पदाको दृष्टिले ज्यादै महत्वपुर्ण रहेको यस नगरमा नेवार जातिको बाहुल्यता रहेता पनि बाहुन, क्षेत्री, राई, मगर लगाएत अन्य जात जातिहरुको पनि उल्लेख्य बसोवास रहेको छ । केहि दशक अगाडि देखि यस नगरमा अवस्थित कृषि भुमि साँघुरिदै गएको तथा बस्ती क्षेत्रको तिव्र विकास हुन पुगेको छ । सरकारी शैक्षिक निकायहरुको ग्रामकै रुपमा विकसित सानोठिमीको पहिचान अव नेपालमा मात्र सिमित नभई अन्तरराष्ट्रिय क्षेत्रमा पनि पुगेको छ । उपत्यकाका मुख्य केन्द्रहरुसंगको सहज दुरी र भौतिक पूर्वाधारको उपलव्धता लगायतका कारणले गर्दा यस नगरमा शहरीकरणको चाप अरु थपिदै गएको छ र यसले बस्ती विकासको तिव्रतालाई झन बढाउदै लगेको छ । यहि तथ्यको बोध गरि शहरीकरणलाई व्यवस्थित बनाउन नगरपालिकाले सिन्टिटार, कमेरोटार, मनोहरा, दिव्यश्वरी आदि जस्ता जग्गा एकीकरण आयोजनाहरु संचालन गर्दै आईरहेको छ र यिनै प्रयासहरुले गर्दा यो नगरपालिका राजधानीको आवासीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ । यो नगर मुलत आवासीय क्षेत्रको रुपमा विकास भएता पनि यहाँ ब्यापारिक गतिविधिहरु पनि विस्तार हुने क्रममा छन् । ठुला ठुला सुपर मार्केट, ब्यापारिक कम्पलेक्स, सुविधाजनक रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरु, बैक तथा वितीय संस्थाहरु र विभिन्न कम्पनीका सवारी साधनहरुको शोरुम आदि यस क्षेत्रमा खोल्ने क्रम जारी छ ।

संघीय राजधानी काठमाण्डौवाट नेपाल र चीन बीचको प्रमुख व्यापारिक नाका मध्येको तातोपानी ब्यापारिक नाका जाने र पूर्वी नेपालको राजधानी प्रवेश मार्गको रुपमा विकसित हुँदै गरेको अरनिको राजमार्गको कोटेश्वर–धुलिखेल सडक यसै नगरपालिका हुँदै जाने हुँदा यो राजमार्ग आसपासको क्षेत्र यो नगरको ब्यापारिक तथा औद्योगिक करिडोरको रुपमा विकसित हुँदै गरेको छ । यो नगरपालिका क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रका पनि अग्रणी संस्थाहरु स्थापना भएका छन । सरकारी स्तरवाट सार्क क्षयरोग केन्द्र, नगरपालिका स्तरवाट नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, सामुदायिक तथा नीजि स्तरवाट बी.पी.नेत्र प्रतिष्ठान(बाल। आँखा, नाक, कान, घाटी, अस्पताल एवं पुन ः स्थापना केन्द्र), मध्यपुर अस्पताल, नागरिक अस्पताल, समिट अस्पताल, भक्तपुर ईन्टरनेशनल अस्पताल, आरोग्य मल्टिस्पेसियालिटी अस्पताल, हुकम फर्मासिटिकल्स आदि यहां सञ्चालित मुख्य स्वास्थ्य सुविधाहरु हुन । नगरबासीलाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गर्न नगरपालिकाले सिटीस्क्यान, डाइलासिस सेवा, आईसियु, बाल रोग, स्त्री रोग, हाडजोर्नी, नाक,कान,घांटी, दन्त सेवा, चौविसै घण्टा आकष्मिक सेवा र अत्याधुनिक प्रविधि एवम् विशेषज्ञ सेवा सहितको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल सञ्चालन गरिरहेको छ । स्वास्थ्य सेवामा सवैको पहुँच अभिवृद्धि गर्न ६० वर्ष माथिका सम्पुर्ण जेष्ठ नागरिकहरु, एकल महिला, दलित परिवार र अशक्त अपाङ्गता भएका व्यक्तिहरुका परिवारका ५ जनालाई निःशुल्क स्वास्थ्य वीमा प्रिमियमको व्यवस्था र सम्पुर्ण नगरबासीहरुको लागि विरामी भई रगतको आवश्यक भएमा निःशुल्क रगतको व्यवस्था गर्दै आईरहेको यस नगरपालिकाले लायन्स क्लवसंग सहकार्य गरी नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैक स्थापना गर्ने कार्य थालनी गरि सकेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(सिटिईभिटि),राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय युवा परिषद, पाठयक्रम विकास केन्द्र, शिक्षा तथा मानव श्रोत विकास केन्द्र, चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय अनुदान आयोग,शिक्षक सेवा आयोग, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी क्याम्पस, प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआईटिआई),कृषि विकास बैक केन्द्रीय तालिम प्रतिष्ठान, एसओएस बालग्राम, युसेप नेपाल, आदि जस्ता शैक्षिक तथा क्षमता विकास केन्द्रहरु यस नगरपालिकामा अवस्थित छन् । नीजि क्षेत्रवाट यहाँ अन्य प्रशस्तै विद्यालय तथा कलेजहरु र स्वास्थ्य संस्थाहरु पनि सञ्चालित छन् । मध्यपुर थिमि नगरपालिका क्षेत्र भित्रका सम्पुर्ण सामुदायिक विद्यालयमा पूर्व प्राथमिक कक्षा देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको लागि पौष्टिक खाना खुवाउने गरि केन्द्रीकृत भान्साघर निर्माण र खाजा वितरणका लागि मध्यपुर थिमि नगरपालिका, विश्व खाद्य कार्यक्रम  (ध्ँए) र जीवनका लागि खानासंग सम्झौता सम्पन्न गरी कार्य थालनी भएको छ । त्यस्तै गरी स्थानीय स्तरवाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने अभिप्रायका साथ मध्यपुर युथ एशोसियशन लगायत विभिन्न संघसंस्था र समुहसंग सहकार्य गरी नियमित रुपमा प्रशिक्षणका व्यवस्थाका अतिरिक्त राष्ट्रपति रनिङ्गशिल्ड, मध्यपुर थिमि नगरपालिका वडा लिग फुटवल प्रतियोगिता लगायत विभिन्न नगर स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आईरहेको छ । मध्यपुर थिमिका परिश्रमी जनताको संकल्प र सृजनशीलता अनि नगरपालिका र नगरबासीको सामुहिक प्रयासले यो नगर एउटा सुन्दर सांस्कृतिक एवम् पर्यटकीय स्थलको रुपमा विकसित हुने विश्वासलाई व्यवहारमा रुपान्तरित गर्दै जान मध्यपुर थिमि नगरपालिका कटिवद्ध रहेको छ ।