मध्यपुर थिमि वडा नं. ४ थिमि, क्वलाखुटोल स्थित बालकुमारी मन्दिर मध्यपुर थिमि क्षेत्रकै ठूलो संरचनाको मन्दिर हो । प्राचीनकाल विशेषगरी मल्लकालमा यसको महिमा थिमिमा मात्र सिमित नभई आसपासका क्षेत्रमा समेत फैलिएको तथ्य विभिन्न अभिलेखबाट थाहा हुन्छ । च्वःपू (चित्रपुर), नीलबाराही आदि स्थानमा पाइएका विभिन्न अभिलेखमा “………मध्यपुरीस्थाने बालकौमारी सन्निधाने…..” जस्ता वाक्यांश प्रयोग गरिएबाट यसको महिमाको व्यापकताबारे आंकलन गर्न सकिन्छ । क्वलाखु टोलमा अवस्थित हुनाले यसलाई स्थानीय भाषामा क्वलाखुद्यः पनि भन्ने गरिन्छ । बालकुमारी थिमि नगरको मूलदेवता हो । थिमिको प्राचीन बस्ती मानिने क्षेत्र क्वलाखुटोलदेखि दिगुटोलसम्मका सम्पूर्ण र यसपछि विस्तार भएका चपाचो क्षेत्रका अधिकांश बासिन्दाहरुले बालकुमारीलाई मूलदेवताको रुपमा पूजाअर्चना गर्दछ ।
क) ऐतिहासिक पृष्ठभूमि
थिमिको इतिहासमा थ्याम दिगुद्यः, बालकुमारी, बाकाछेँ महादेवको चर्चा विशेष महत्वपूर्ण हुन्छ । मध्यपुरथिमिको यस बालकुमारीलाई काठमाडौं उपत्यकाको चार कुमारीमा गनिन्छ । जसमध्ये पूर्वी दिशामा थिमि बालकुमारी, पश्चिम दिशामा पञ्चकुमारी मैतीदेवी, उत्तरमा मंगलापुर कुमारी (यो कुमारी पहिलेविशालनगरको भश्मेश्वरसँगै रहेकोमानिन्छ ।) र दक्षिणमा पाटनको बालकुमारीलाई लिइन्छ । पुरातात्विक महत्व बोकेको यस थिमि बालकुमारीको स्थापनाकालबारे ठोस जानकारी प्राप्त हुन नसक्दा भने यसको उत्पति र स्थापनाकाललाई ठम्याउन सरल छैन । यद्यपी केहि अभिलेखमा उल्लेखित विवरणले यसको प्राचीनतालाई प्रष्ट्याउँदछ । गुठी संस्थानमा रहेको एउटा ताडपत्र अनुसार ने.सं. ४७८ मा बालकुमारी मन्दिर ठूलो बनाएको भन्ने जानकारीले बालकुमारी मन्दिरको स्थापना ने.सं. ४७८ भन्दा अगाडी नै भएको देखिन्छ । ने.सं. ६४१ को जग्गा बिक्रीसम्बन्धी एउटा तमसुकमा चारकिल्ला खुलाउने क्रममा बिसक जात्रा गुथिया भाड भूमेण अर्थात्बिस्काजात्राको गुथिको जग्गा भन्ने वाक्यांश परेको छ र बिस्काजात्रा मूलतः थिमि बालकुमारीकै नेतृत्वमा हुने गर्दछ । यसबाट यस मन्दिरको स्थापना नेसं ६४१ भन्दा निकै पहिलो भइसकेको पुष्टि हुन्छ । यसबाहेक यस बालकुमारीको स्थापना सम्बन्धमा सुनाइने किम्बदन्तीअनुसार यसको सम्बन्ध ललितपुर जिल्लाको लुभूसँग रहेकोछ । जसअनुसार प्राचीनकालमा लुभूकी एक चेलीले भक्तपुरस्थित आफ्नो ससुराली घर जाने क्रममा आफ्नो सुरक्षाको लागि आफूले बोकेको भगवानको मूर्तिलाई तात्कालिन्थिमि नगरबाहिर हालको क्वलाखु टोलमा छोडेर थिमिस्थित आफन्त भेट्न हिंडेकोरहेछ । पछि उक्त मूर्ति हालको बालकुमारीको रुपमा सिद्ध भएको मानिन्छ । तर उक्त किम्बदन्तीलाई पुष्टि गर्ने कुनै पनि आधार वा ठोस प्रमाण आजपर्यन्त फेला पार्न सकिएको छैन । थिमि नगर वरपर स्थापित अष्टमातृका गण अन्तर्गत कौमारीको रुपमा यस बालकुमारीलाई मानिन्छ । त्यसो त अष्टमातृका अन्तर्गत पर्ने यस बालकुमारी स्थानीय क्वलाखुतां (क्वलाखु टोलबाट शंखधर चोक झर्ने ओरालो) देखि पूर्वतिरको वन (चीपगः) मा स्थापित चिबाःद्यः (वनदेवी) हो भन्ने मान्यता पनि रहेको बताइन्छ । स्थानीय बज्राचार्यहरुले हरेकवर्ष दशैंको नवरात्रीमा अष्टमातृका दर्शन गर्न जाने बेला उक्त चिबाःद्यःलाई कुमारीको रुपमा दर्शन गर्ने र थिमि बिस्काजात्रा बैशाख संक्रान्तीको दिन क्वलाखुस्थित बालकुमारीको साथै यस बनदेवीको पनि पूजा गर्ने एवम् गरगहनाले सिंगार्ने प्रचलन यद्यावधि रहेको छ । यसैगरी कार्तिक महिनामा अष्टमातृकाको आराधना गर्ने गरिन्छ । यसबेला महिनाभरि यहाँ पूजा गरिन्छ । यी प्रचलनहरुले थिमि नगरको अष्टमातृका अन्तर्गतको प्राचीन कौमारी उक्त वनदेवी नै हो भन्ने मान्यतालाई बल दिन्छ ।
ख) सांस्कृतिक महत्व
बालकुमारी मन्दिर र यसको परिसर सांस्कृतिक रुपमा निकै व्यापक र महत्वपूर्ण छ । दशै, बिस्काजात्रा जस्ता मुख्य चाड र थिमि क्षेत्रमा मनाइने हरेक सांस्कृतिक क्रियाकलापमा यस मन्दिर र मन्दिर परिसरको सम्बन्ध अन्योन्याश्रित र अपरिहार्य छ । यस बालकुमारीलाई प्राचीन थिमिक्षेत्रका बासिन्दाहरुले आफ्नो मूल देवताको पूजा गर्ने गर्दछन् । बसाइसराइको क्रममा थिमि बाहिर बसोबास गरिरहेकाहरुले समेत हरेक वर्ष मूल चाडहरु जस्तै दशैं, बिस्काजात्रा, दिगुपूजामा यहाँ आएर पूजाअर्चना गर्ने गर्दछन्। बिस्काजात्रा मध्यपुर थिमि क्षेत्रको एक महत्वपूर्ण चाड हो । जात्रा अवधिभर यहाँ लाय्कू र विभिन्न गुथि एवम्ख लकको तर्फबाट विभिन्न सांस्कृतिक क्रियाकलाप सम्पन्न हुन्छ । चैत्र मसान्तबाट प्रारम्भ हुने बिस्काजात्राको पूर्वसन्ध्यामा बालकुमारी मन्दिरबाट करीब ५० फीट पर उत्तरपूर्वी दिशामा यःसिं ठड्याउने प्रचलन रहेको बताइन्छ। बिस्काजात्राको पूर्वसन्ध्यामा चैत्र मसान्तको राती बालकुमारीलाई द्यःछे“(थिमि लाय्कू) बाट बालकुमारी मन्दिरमा ल्याई प्रदर्शनीमा राखिन्छ जसलाई बालकुमारी क्वहाँ बिज्याकेगु जात्रा भनिन्छ । यस जात्राको लगत्तै दक्षिणबाराहीको नेतृत्वमा प्रारम्भ हुने अर्को खतजात्रा विभिन्न स्थानको परिक्रमापश्चात् यही परिसरमा आएर विसर्जन गरी समापन गरिन्छ । यसैगरी वैशाख १ गते विष्णुवीरको नेतृत्वमा हुने खतयात्रा नगरका विभिन्न स्थानहरुको परिक्रमा पश्चात् बालकुमारी मन्दिरको पश्चिमपट्टि रहेको दबलीमा विसर्जन गरी समापन गरिन्छ । यसैगरी बैशाख २ गते प्राचीन थिमिक्षेत्रका विभिन्न स्थानबाट २३ वटा देवीदेवताहरु यस परिसरमा जम्मा हुन्छ र यिनै बालकुमारीको नेतृत्वमा बिस्काजात्राको अन्तिम तर मूल जात्राको रुपमा लिइने बालकुमारी खतयात्रा सम्पन्न गरिन्छ । यसको लागि मन्दिर प्राङ्गणमा जात्रामा सहभागी हुने विभिन्न देवीदेउताको खत बिसाउन आसनकोव्यवस्था गरिएको छ । यसबाहेक जात्रा अवधिमा सम्पन्न गरिने मिखु म्ये पालिगु, तःगःमरि तिनिगु, कुम्वः नकेगु, लादां यायेगु, द्यःदां यायेगु जस्ता थुप्रै सांस्कृतिक क्रियाकलापहरु यसै मन्दिर र मन्दिर परिसरमा आयोजना गरिन्छ । थिमिमा वर्षभरी मनाइने चाडपर्वमा पनि बालकुमारीको महिमा ठूलो छ । यन्याः पुन्हिको दिन मनाइने थिमिको म्ये प्वाः खनिगु जात्रा दिगुटोलबाट प्रारम्भ हुन्छ भने बालकुमारी मन्दिर पुगेर उक्त सियो निकालेर बालकुमारी मन्दिर भित्रको खम्बामा ठोकिन्छ र जिब्रो छेडेर बनेको घाउमा बालकुमारी मन्दिर भित्रको माटो राखिन्छ । यसबाहेक विविध सांस्कृतिक गतिविधि सम्पन्न गर्नको लागि मन्दिर प्रांगनमा बिभिन्न स्थानको व्यवस्था समेत गरिएको छ । मन्दिर अघिल्तिरको मयूर स्तम्भभन्दा अन्दाजी १५ फीट उत्तरपूर्वी दिशामा एउटा शिलाआसन रहेको छ जुन आसनमा राखेर दशैंको चालं (दशमी) को दिन भुईफःसि (कुभिण्डो) काट्ने गरिन्छ । यसैगरी मन्दिर वरपर बनाइएका पाटीहरुमा हरेक साँझबिहान र विभिन्न अवसरमा भजनखलकहरुबाट भजनकीर्तन हुने गर्दछ । बिस्काजात्राको पूर्वसन्ध्यामा यसै मन्दिरमा मिखुम्येय् बलिदिने, कुमः नकेगु (ब्रतबन्ध नगरेको कुमार वा बच्चालाई बालकुमारी मन्दिरभित्र राखेर खुवाइने बिशेष प्रकारको भोज), गरिन्छ । मन्दिरको ठिक पछाडिपट्टि रहेको दुईतले सत्तलमा हरेकवर्ष भक्तपुरबाट आउने नवदुर्गा गण बस्ने प्रचलन रहेको छ । मन्दिरको पश्चिमतिर रहेको पोखरीमा गथांमुगःका दिन त्वाना तिनेगु हरेक वर्ष माघमा निकालिने पुलुकिसि जात्रा र हश्र धारा जडित कलात्मक भाँडामा थाप्ने जात्रामा पनि यहि मन्दिर परिसरबाट प्रारम्भ हुन्छ । चाडपर्वबाहेक थिमिमा मनाइने विभिन्न संस्कारहरु जस्तै बिबाह, व्रतवन्ध, जंको, गुथिपूजा, जन्मदिन आदिमा बालकुमारीको पूजा गर्ने एवम्यस परिसरमा पुगेर बालकुमारी परिक्रमा गर्नुपर्ने प्रचलन रहेको छ ।
ग) कलात्मक महत्व
छाना शैलीको तीनतले उत्तराभिमुख यस मन्दिरको कलात्मक पक्ष अत्यन्त आकर्षक छ । मन्दिरका छानाहरु स्वर्णलेपन गरिएको तामाको पाताले छाएको छ । पहिलो र दोस्रो छानाको चारै कुनामा ससाना मयूर र माथिल्लो छानाको अघिल्तिरको भागमा बीच पारेर ज्वःला न्हाय्कं राखिएको छ । मन्दिरको हरेक छानामुनि चारैतिर छपाझ्याः राखिएको छ । पहिलो तलाकोहरेक मोहडामा तीनतीन वटा र दोस्रो एवम्तेस्रो तलामा एकएक वटा निकै कलात्मक छपाझ्याः राखिएको छ । तीनतिर खुल्ला यस मन्दिरको उत्तरी मोहडामा तीन कवल र पूर्व एवम्पश्चिम मोहडामा दुई कवल खुल्ला रहेको छ । यी पाँचै कवलमा कलात्मक तुलं ओढाइएको छ । सामान्यतया तुलं अर्ध वृताकारको हुन्छ भने यस मन्दिरमा राखिएको तुलंहरु अर्थवृताकार नभई पृथक डिजाइनको रहेको छ । अघिल्तिरको तीन कवलमध्ये बीचको कवल मूलद्धारको रुपमा रहेको छ र यसको तुलंको बीच भागमा ………………. को मूर्ति राखिएको छ । मन्दिरको वरपर तीन घेरा चाकःमतः राखिएको छ । त्यस्तैगरी मूलद्धारको दायाँबायाँ र मन्दिरकोउत्तरी मोहडाको दुई कुनामा पित्तलको कलात्मक सिंह स्थापना गरिएको छ । कुनाको सिंहसँग टाँसिने गरी कलात्मक शिलास्तम्भमा घण्टा झुण्ड्याइएको छ भने काठको कलात्मक खम्बामा ध्वजाहरु राखिएको छ । मन्दिरभित्र बीच पारेर दक्षिणी भित्तामा सताएर बालकुमारीका निराकार मूर्तिहरु स्थापना गरिएका छन्। पछाडिको गारो पूर्णरुपले स्वर्णलेपन गरिएको तामाको पाताले मोडेको छ भने त्यसैमा सताएर राखिएका विभिन्न आकारको तीनवटा छिफ्वःले बालकुमारीलाई ओढाइएको छ । बालकुमारी मूर्तिको ठिक माथि पारेर सिलिंगमा बालकुमारीको पाँच प्रतिमूर्ति कुँदिएको इलां रहेको छ । मन्दिरभित्र बीचनिर बालकुमारी मूर्तिको अघिल्तिर भैरबको आकृति भएको १८ इन्च जति अग्लो खम्बा रहेको छ भने मन्दिर भित्रै मन्दिरको माथिल्लो बोझलाई थाम्न अघिल्तिरको पूर्वी र पश्चिमी कुनाबाट २ जति भित्र पारेर गरी दुईवटा थाम राखिएको छ । यन्याः पुन्हिको दिन जिब्रो छेडेपछि सियोलाई यिनै खम्बा ठोक्ने गरिन्छ र यसमा त्यस्ता थुप्रै सियोहरु ठोकेको देख्न सकिन्छ । यसैगरी अघिल्तिर करीब २५ फिट अग्लो शिलास्तम्भको टुप्पोमा दक्षिणाभिमुख मयूर प्रतिस्थापन गरिएको छ । यो मयूर ने.सं. ९१८ मा जयभद्र सिंह र तवधिकद्वारा स्थापना गरिएको कुरा स्तम्भमा कुँदिएको विवरणबाट थाहा हुन्छ । बि.सं. २०२८ सालतिर यस मयूरको चुच्चोबाट रगत बगेको घटनाले निकै चर्चा पाएको थियो । प्रत्यक्षदर्शीहरु अहिले पनि उक्त अलौकिक घटनाबारे बताउँदै मयूरको दैवीशक्तिको प्रशंसा गर्दछन्। उक्त मयूर २०५८ बैशाख ३ गते राति चोरी भएपछि पुनः २०५८ कार्तिक २ गते उक्त स्थानमा मयूरको नयाँ मूर्ति प्रतिस्थापन गरिएको थियो। संयोगवशः केहि समयमैचोरी भएको उक्त मयूरको मूर्ति फेला परिसकेकोभए पनि हालसम्म यसको पुनस्र्थापना हुन सकेको छैन । बालकुमारी मन्दिर परिसरमा पुरातात्विक एवम् कलात्मक गुम्बज शैलीको क्वंचा भैलःद्यः (बतुक भैरव), कृष्णमन्दिर, एकतले पेगोडा शैलीको थासमा गणेद्यः रहेका छन्। यसैगरी जमिन सतहभन्दा झण्डै १० फिट गहिरो एवम् १० फिट वर्गाकार खाल्डोभित्र शिवलिंग स्थापना गरिएिकोछ जसलाई स्थानीय बोलीचालीमा गाःमहाद्यः को नामलेचिनिन्छ । मन्दिरको पश्चिमपट्टि ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको दबली, पोखरी र ढुंगेधारा रहेका छन् । यसबाहेक मन्दिर प्राङ्गणकोदुईवटा दुईतले सत्तल र दुईवटा तीनतले सत्तल रहेका छन्भने केहि भजन पाटीहरु रहेका छन्।